काठमाडौं, १८ असार । अविरल बर्षासँगै देशका विभिन्न स्थानमा पहिरो जाँदा बाटोघाटो अवरोध भएका छन् । पहिरोका कारण केही घाइते भएका छन् । धनमालको पनि क्षति भएको छ।
रसुवा - टिमुरे–१ रसुवागढीस्थित पासाङ ल्हामु राजमार्गमा शनिबार रातभरी परेको अबिरल बर्षाको कारण पहिरो आई बाटो पुर्ण रुपले अबरोध भएकोमा प्रहरी चौकी रसुवागडिबाट प्रहरी टोली खटि गई डोजरको सहायताले बाटो खुलाएको छ ।
म्याग्दी - बेनी नगरपालिका–५ डम्बरा बस्ने जयलाल खत्रीको कच्ची घर र सोही ठाएँ बस्ने खिमकुमारी थापाको कच्ची घर अबिरल बर्षाको कारण घरको अगाडिको जग भासिन गई बसोबास गर्न उच्च जोखिम भएकोले प्रहरी टोली खटी गई २ घर परिवारलाई सोही ठाउँस्थित अपाङ्ग संघको भवनमा सुरक्षित स्थान्तरण गरिएको छ ।
प्युठान - नारिकोट–३ बस्ने कमानसिंह जिसीको घरगोठ अबिरल बर्षाको कारण शनिबार एक्कासी भत्कन जाँदा उनका छोरा २८ वर्षीय चन्द्रबहादुर जिसी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि मेडिकलतर्फ पठाइएको छ । गोरु १ वटाको मृत्यु भएको छ ।
यसैगरी प्युठान तिराम–१ बस्ने रोमबहादुर बुढाको घर बर्षाको कारण शनिबार भत्कन गई घरमा रहेको पसलको सामान र घरको सामान पुरिएको छ । क्षतिको विवरण लिने काम भइरहेको छ ।
मकवानपुर - कुलेखानी–८ स्थित हेटौंडा–फाखेल सडक खण्डमा बर्षातको कारण शनिबार पहिरो आई बाटो अवरोध भएको छ । प्रहरी टोली खटि गई अवरोध खुलाउने पहल भइरहेको छ ।
स्याङ्जा - श्रीकृष्ण गण्डकी–९ तातोपानीस्थित स्याङजाको आदिमुहानबाट गुल्मीको हर्मिचौर जाने कच्ची सडक खण्डमा शनिबार पहिरो झरी बाटो अवरोध भएको छ । प्रहरी टोली खटी गई अवरोध खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको छ ।
चितवन - कविलास–४ घुमाउनेस्थित मुग्लिङ–नारायणघाट सडक खण्डमा रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको ना.५ ख २१६५ नम्बरको बसको शिशामा पहिरोमा आएको ढुंगा लाग्दा बस चालक सर्लाही राजघाट–२ बस्ने ४० वर्षीय टंककुमार मोक्तान र सह–चालक रौतहट चन्द्रपुर नगरपालिका–१० बस्ने २३ वर्षीय मनोहरकुमार चौधरी शुक्रबार घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । बसको अगाडिको शिशा फुटेर सामान्य क्षति भएको छ । अन्य यात्रुहरु सकुशल रहेका छन् ।
यसैगरी चितवन चण्डीभन्ज्याङ–५ खहरेस्थित मुग्लिङ–नारायणघाट सडकमा मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको ना.१ क १८६४ नम्बरको ट्रकमा शुक्रबार ढुंगा खसी अगाडीको भागमा लाग्दा चालक सुनसरी खनार बस्ने ३५ वर्षीय उद्धव भुजेल र सह–चालक घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ । चालकको अवस्था गम्भीर र सहचालकको समान्य रहेको छ ।
कञ्चनपुर - बर्षाको कारण झलारी पिपलाडी नगरपालिका–७ जुदा बस्ने लोकेन्द्रबहादुर सिंहको कच्ची घर शुक्रबार भत्किएर क्षति भएको छ । सबै घटनास्थलमा स्थानीय प्रहरी खटि गई उद्धार कार्य गरिरहेको छ ।
0 comments