नेपाललाई आइएसभन्दा इन्डियन मुज्जाहिद्दिन (आइएम) को खतरा
10:57 AM
Loading...
मिडिया एनपी, काठमाडौं, २१ असार । केही दिनदेखि इस्लामिक स्टेट (आइएस) ले आतंककारी हमलालाई तीव्र पारेपछि नेपालको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । अफगानिस्तान, बंगलादेश, इराक हुँदै मंगलबार बिहान साउदी अरबको मदिनामा आइएसले आत्मघाती बम विस्फोट गराएपछि सुरक्षा विज्ञहरू मात्र होइन, आमसर्वसाधारणले समेत नेपालमा पनि आइएसको गतिविधि बन्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पार्न सुझाव दिएका छन् ।
तर, गृह मन्त्रालयले भने नेपाललाई आइएसभन्दा इन्डियन मुज्जाहिद्दिन (आइएम) बाट बढी खतरा भएको निष्कर्ष निकालेको छ । केही दिनअघि गृह मन्त्रालयमा भएको छलफलमा सुरक्षा अधिकारीहरू लामो समयदेखि भारतमा पृथकतावादी आन्दोलन चलाइरहेको इन्डियन मुज्जाहिद्दिनबाट मुलुकको सुरक्षा व्यवस्थामा खतरा रहेको निष्कर्षमा पुगेका हुन् ।
इन्डियन मुज्जाहिद्दिनबाट कसरी छ खतरा ?
छलफलमा मुलुकको तीनतिर भारतले घेरेको र खुला सिमानाका कारण पनि नेपाललाई इन्डियन मुज्जाहिद्दिनबाट खतरा रहेकोमा गृह र नेपाल प्रहरीका उच्च अधिकारीहरू एकमत भएका छन् । उनीहरूले नेपाल–भारत सीमा सुरक्षा व्यवस्थामा थप कडाई गर्नुपर्ने निष्कर्ष निकालेका गृह स्रोतले बतायो ।
तीनजना इन्डियन मुज्जाहिद्दिनका नेता नेपालमा पक्राउ नेपाल प्रहरीले नेपालमा आतंककारी गतिविधिमा संलग्न भएको आरोपमा इन्डियन मुज्जाहिद्दिनका तीनजना संस्थापकलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीले पक्राउ गरेकामा यासिन भटकल, हड्डी र आसिन अख्तरलाई पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको थियो । त्यसले गर्दा पनि गृह नेपालमा आइएमबाट खतरा भएको निष्कर्षमा पुगेको हो ।
नेपालका चर्च मुख्य निसानामा अहिले इस्लामिक स्टेट र इन्डियन मुज्जाहिद्दिनको प्रमुख निसाना विभिन्न देशका चर्चहरू परेका छन् । इस्लामिक स्टेट संसारभर मुस्लिम जातिको एउटै राज्य हुनुपर्छ भन्दै आतंककारी गतिविधिमा संलग्न छ । इन्डियन मुज्जाहिद्दिन पनि भारतमा रहेका मुस्लिमहरूको छुट्टै राज्य हुनुपर्ने भन्दै पृथकतावादी युद्धमा छ ।
उनीहरूले मुख्य गरी नेपालका चर्चहरूलाई आक्रमणको ‘टार्गेट’ बनाएको नेपाल प्रहरीको विश्लेषण छ । ‘सोही कारण आवश्यक परे २४ सै घन्टा चर्चलाई सुुरक्षा दिनुपर्ने हुनसक्छ,’ गृहका एक अधिकारीले भने ।
0 comments