२९ भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले करिब दुई सय गाविस सचिवहरुको बुधबार सरुवा गरेको छ । मन्त्रालयमा प्राप्त निवेदनहरुमध्येबाट गाविस सचिवहरुलाई पहिलो प्राथमिकता दिएर सरुवा गरिएको हो ।
भूकम्प पीडितलाई अनुदान रकम वितरण, पुनर्निर्माण लगायतका कामलाई तिव्रता दिनुपर्ने भएकाले गाविस सचिवका रुपमा जान चाहनेलाई पहिलो प्राथमिकतामा राखेर सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
‘स्थानीय निकायमा जान चाहनेहरुलाई प्राथमिकता दिएर सरुवा गरिएको छ,’ मन्त्रालयका सचिव पुर्णचन्द्र भट्टराईले अनलाइनखबरसँग भने ।
आफूलाई पायक पर्ने वा इच्छाएको ठाउँमा सरुवा गरिदिन माग गर्दै सामान्य प्रशासन मन्त्रालयमा करिब तीन हजार कर्मचारीहरुले निवेदन दिएका थिए । यसरी निवेदन दिनेहरु धेरैजसोले मालदार वा आकर्षक मानिने ठाउँमा सरुवा हुने इच्छा देखाएका छन् ।
तर, सरुवामा स्वार्थी समूहको पनि चलखेल बढी देखिएकाले सबै निवेदकहरुको सरुवा भने नगर्ने मन्त्रालयको तयारी छ ।
0 comments