इपिएलको पहिलो खेलमा पञ्चकन्या विजयी

3:39 AM

Loading...


काठमाडौं, ९ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पञ्चकन्या तेज विजयी भएको छ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई छ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ बनायो । जितका लागि १३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभरको समाप्तिमा नै लक्ष्य भेट्टायो । पञ्चकन्याको जितमा पृथु बास्कोटाले ४८, आरिफ शेखले ३३ तथा कप्तान शरद भेषावकरले २७ रन बनाए । यता, जगदम्बाका सोमपाल कामीले अविजित रहँदै ४३ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन भने सकेनन् । त्यस्तै पञ्चकन्याका तर्फबाट सुशील कँडेलले तीन विकेट लिए ।

जोहरा स्पोटर्स म्यानेजमेन्टको आयोजनामा आज सुरु भएर १७ गतेसम्म चल्ने भनिएको इपिएलमा छ फ्रेन्चाइज टोलीले भाग लिएका छन् । यसअघि शनिबार सुरु हुने भनिएको इपिएल वर्षाका कारण रोकिएको थियो । प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले छन् । राउन्ड रोबिन लिगका आधारको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । नेपालमा पहिलोपटक यति ठूलो प्रतियोगिता आयोजना हुन लागेको आयोजकको दाबी छ । हुन पनि यसका सबै टोलीसँग नेपालका ठूला कर्पोरेट हाउस जोडिएका छन् । आइपिएल (इन्डियन प्रिमियर लिग)को शैलीमा हुने इपिएल प्रतियोगितामा प्रत्येक टोलीका कप्तानले हरेक खेलबापत रु २० हजार पाउनेछन् । हरेक टोलीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका सदस्यले गरेका छन् जसमा विशाल वारियर्सको कप्तान राष्ट्रिय टोलीका कप्तान पारस खड्का छन् ।

त्यस्तै कलर्स एक्स फ्याक्टर्समा ज्ञानेन्द्र मल्ल, जगदम्बा राइनोजमा शक्ति गौचन, कान्तिपुर गोर्खाजमा वसन्त रेग्मी, पञ्चकन्या तेजमा शरद भेषवाकर र सगरमाथा लिजेन्ड्समा विनोद भण्डारीको कप्तानी रहेको छ । त्यसैगरी सबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको उत्तिकै ठूलो उपस्थिति छ । प्रतियोगिताअन्तर्गत अहिले सगरमाथा लेजेन्ड्स र कान्तिपुर गोर्खाजबीच खेल भइरहेको छ । रासस

You Might Also Like

0 comments