काठमाडौँ, ६ असोज । वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको दोस्रो स्मृति दिवसका अवसरमा बिहिबार यहाँ आयोजित स्मृति सभामा विभिन्न नेता तथा समकक्षीले उनको योगदानको चर्चा गरेकाछन् ।नेकपा (एमाले) केन्द्रीय कार्यालय, धुम्बाराहीमा साहना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानले छ दशक लामो जीवन सक्रिय राजनीतिमा बिताएकी र उनले समग्र वाम लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको चर्चा गरे ।
अध्यक्ष ओलीले भने – ‘‘नेत्री प्रधानलाई महिला आन्दोलनको मात्र अगुवाका रुपमा हेर्नुहुँदैन, उनि प्रजातन्त्र प्राप्तिको आन्दोलनको पनि अगुवा हो, उनको योगदानबाट प्रेरणा लिएर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन लाग्नु आजको दायित्व हो ।”एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेत्री प्रधान सङ्घर्षको अर्को नाम भएको भन्दै उनको योगदानको चर्चा गरे ।
अर्का नेता माधवकुमार नेपालले विसं २०४६ को प्रजातान्त्रिक आन्दोलनका क्रममा वाममोर्चाका तर्फबाट नेत्री प्रधानले कुशल संयोजन गरेको र तत्कालीन राजासँग निर्णायक वार्ता गरेका कारण प्रजातन्त्र प्राप्ति भएको बताए ।प्रधानसँग लामो समय राजनीतिक मोर्चामा आबद्ध उपाध्यक्ष वामदेव गौतमले साहस र समपर्णका साथ प्रधान र उहाँको परिवारले जनताका पक्षमा आफूलाई उभ्याएको उल्लेख गर्नु भयो ।प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले नेत्री प्रधानका लुकेको सङ्घर्ष र सफलताका कथालाई बाहिर ल्याउन प्रयत्न गरिने बताए ।
0 comments