पोखराः काजीपोखरी पोखराकी लक्ष्मी गुरुङले झन्डै ६ किलोको शिशु जन्माएकी छन् । चिकित्सकका अनुसार यति धेरै वजनको बच्चा जन्मनु चिकित्साक्षेत्रकै लागि पनि नौलो हो ।
स्याङ्जाको एलादी स्थायी घर भएकी लक्ष्मीको शुक्रबार साँझ रानीपौवा पोखरास्थित साई अर्चना हस्पिटलमा अप्रेसनबाट शिशु निकालिएको थियो ।
अप्रेसनमा संलग्न डा. अर्चना पुनका अनुसार आमा र छोरा दुवै स्वस्थ छन् । सामान्यभन्दा बढी वजनको जन्मिएको हुनाले केही समय निगरानी गर्न बच्चालाई एनआइसीयुमा राखिएको डा. पुनले जानकारी दिइन् ।
‘हाम्रो हस्पिटलमा एनआइसीयु नभएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ’, उनले भनिन्, ‘बच्चाको तौल ५ किलो ७ सय ५० ग्राम छ ।’ शिशुको लम्बाइ ५७ सेन्टिमिटर रहेको जानकारी पनि डा. पुनले दिइन् ।
लक्ष्मीको गर्भवती जाँच नियमित हुँदै आएको र त्यसबीचमा असामान्य अवस्था कहिल्यै नदेखिएको डा. पुनले बताइन् । ‘भिडियो एक्सरे गर्दा शिशु ४ किलोको हुनुपर्छ भन्ने अनुमान थियो’, उनले भनिन्, ‘तर अझै बढी तौलको जन्मियो ।’
मधुमेह वा थाइराइड भएका आमाबाबुको सन्तानमा असामान्य तौल देखिनसक्ने भए पनि लक्ष्मीमा भने त्यस्तो कुनै बिरामीपन छैन । बच्चामा पनि मधुमेह वा अरु कुनै समस्या नदेखिएको उनले बताइन् ।
लक्ष्मीमा पति होमबहादुर गुरुङका अनुसार अहिले छोरा जन्माएका उनीहरुको यो दोस्रो सन्तान हो । पहिलो सन्तान छोरी १५ महिनाकी छन् ।
0 comments