भारतबाट भित्राउन लागिएको गोली र विस्फोटक पदार्थ धनगढीमा बरामद
3:57 AM
Loading...
२९ भदौ, धनगढी। धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानबाट प्रहरीले बुधबार विस्फोटक पदार्थसहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ ।
उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यी समान भित्र्याउन लागेको व्यक्ति प्रहरीलाई देख्नासाथ सिमावर्ती भारततर्फ फरार भएको प्रहरीको भनाइ छ ।
यसैगरी धनगढीकै बैयावेहँडी सीमा नाकाबाट भित्र्याउन लागेको अवस्थामा प्रहरीले पेस्तोलमा प्रयोग हुने १८ थान गोली ‘क्यालिभर राउण्ड’ बरामद गरिएको छ । चिनीको झोलाभित्र कपडामा बेरिएर राखिएको अवस्थामा सो परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ ।
सादा पोसाकमा खटिएका प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा अन्दाजी १७/१८ वर्षका व्यक्तिले झोला फ्याकेर फरार भएको र शंका लागेर उक्त झोला चेकगर्दा त्यसवाट उक्त परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
भदौ २१ गते विस्फोटक पदार्थ र भदौ २६ गते गोलीे बरामद गरिएकोमा तत्काल सूचना प्रवाह गर्दा घटनाको अनुसन्धान कार्य प्रभावित हुने भन्दै जिल्ला प्रहरी कार्यालयले बुधबार मात्र घटनाबारे जानकारी दिएको हो ।
प्रहरीले मङ्गलबार साँझ मोहना नदीमा दाउरा खोज्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका— १८ का २५ वर्षीय शेरबहादुर चौधरीको खोजी भइरहेको जनाएको छ ।
जिल्लाको पहाडी क्षेत्रको सहजपुर गाविसको देउराली गाउँमा जुवातास खेलीरहेको अवस्थामा १२ जनालाई खालमा रहेको एक लाख २४ हजार ८८५ सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
0 comments