प्रचण्डसहित माओवादीका २१ नेतालाई अख्तियार लगाएर जेल हाल्ने योजनाको खुलासा
12:18 AM
Loading...
काठमाडौं, ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा माओवादी केन्द्रका २१ जना नेतालाई लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा जेल पठाउने योजनाको खुलासा भएको छ । चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न बसेको माओवादी केन्द्रको बैठकमा आफूसहित माओवादीका २१ नेतालाई अख्तियार लगाएर जेल हाल्ने षडयन्त्र भइरहेको खुलासा गरेका हुन् । प्रचण्ड भारत भ्रमणमा गएकै बेला एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा छानविन अघि बढेको जानकारी दिँदै नेताहरुलाई बयानका लागि बोलाएको थियो । अख्तियारले लडाकु शिविरको भ्रष्टाचार प्रकरण उल्ट्याएपछि यसलाई व्यवस्थापन गर्न प्रचण्डले अमेरिका भ्रमण समेत रद्ध गरेका थिए । हिजोको बैठकमा प्रचण्डले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन अख्तियारलाई एमालेले उकासेको आरोप पनि लगाएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार लडाकु शिविरको अनियमिततामा मुछिएका प्रचण्डसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने ‘षडयन्त्र’ भएको भन्दै अध्यक्षले विफ्रिङ गरेका थिए । लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा आफूसहित पार्टीका २१ नेतामाथि छानविन थालेपछि प्रचण्डले अख्तियारले गर्ने कारवाहीलाई ब्यवस्थापन गर्न केही कदम चाल्ने तयारी भइरहेको जानकारी बैठकमा गराएको ती नेताले बताए । ‘म लगायत २१ नेतालाई अख्तियार लगाएर फसाउने षडयन्त्र भइरहेको सूचना आएको छ,’ प्रचण्डले विफ्रिङका क्रममा बैठकमा भने– ‘अख्तियारको कारवाहीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृहकार्य भइरहेको छ ।’
0 comments