राष्ट्रसङ्घीय उच्च बैठकमा परराष्ट्रमन्त्री डा महत

11:55 PM

Loading...


काठमाडौँ, ४ असोज । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आज राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिनुभयो ।साथै उहाँले दिगो विकास प्राप्तिसम्बन्धी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रका आ–आफ्ना नीति प्राथमिकतामा जोड दिनुपर्ने बताउनुभयो ।

बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा मन्त्री महतले जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

सबै आप्रवासी शरणार्थी होइनन् भन्दै उहाँले स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताउनुभयो ।

आजै, मन्त्री डा महत जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी हुनुभयो ।

अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा टापू राष्ट्रहरुले संयुक्तरुपमा आयोजना गरेको उक्त बैठकमा उहाँले मौसम परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न आन्तरिक स्रोत र साधनले नभ्याउने भएकाले त्यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको आवश्यकता रहेको बताउनुभयो ।

आजै, मन्त्री महतसँग कोलम्बियाका विदेशमन्त्री मारिया एन्जेला होल्गुइन स्विलारले भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच कोलम्बिया र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको उक्त नियोगले जनाएको छ ।

कोलम्बियाली विदेशमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताबारे चासोपूर्वक जिज्ञासा राख्नुभएको थियो ।

कोलम्बियाको कफी उत्पादन तथा प्रशोधन को अनुभव नेपालका निम्ति उपयोगी हुने भएकाले त्यस दिशामा आवश्यक कार्य गर्न मन्त्री महतसमक्ष गर्नुभएको प्रस्तावको नेपालले सकारात्मक जवाफ दिएको थियो ।

सोमबार न्युयोर्क पुग्नुभएका मन्त्री महतलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायतले स्वागत गर्नुभएको थियो ।

You Might Also Like

0 comments