बाग्लुङ, १८ असोज । धवलागिरि अञ्चलकै जेठो पुस्तकालयले आफ्नो संस्थागत विकासका लागि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको छ । विसं २००३ मा स्थापित पुस्तकालयले अभियान सुरु भएको सातादिनमै रु ३५ हजार सङ्कलन गरेको छ । रु दश लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । राणाकालीन सो पुस्तकालय धवलागिरि क्षेत्रकै शैक्षिक, सामाजिक विकासको अग्रणी संस्थाका रुपमा मानिन्छ ।
“इतिहास बोकेको पुस्तकालय आर्थिक समस्यामा पर्न थालेपछि आर्थिक अभियान सुरु गरेका हौँ”, राजभण्डारीले भन्नुभयो – “प्रतिव्यक्ति रु एक हजार सहयोग उठाउने हाम्रो लक्ष्य छ ।” उहाँका अनुसार कतिपय व्यक्तिले स्वेच्छाले रु एक हजारभन्दा पनि बढी सहयोग गरिरहेका छन् । पुस्तकालयप्रेमीबाट स्वतःस्फूर्त रुपमा सहयोग जुट्ने क्रम जारी छ ।
0 comments