बुटवल, २० असोज । दसैंमा काठमाडौंबाट बाहिरीने तथा पहाडी र ग्रामिण क्षेत्रमा चल्ने सवारीसाधनलाई पश्चिम नेपाल बस व्यवसायी संघले डिजेल उपलब्ध गराउने भएको छ।सवारीसाधनको अभावमा दसैंमा गन्तव्यमा जाने यात्रुलाई असुविधा नहोस् भनी संघले काठमाडौंबाट बाहिरीने र बुटवलबाट पहाडी तथा ग्रामिण क्षेत्रका लागि छुट्ने हरेक सवारीसाधनलाई प्रतिट्रिप ५० लिटरको दरले डिजेल सहुलियत दिने भएको हो।
संघका अध्यक्ष दधिराम खरेलले दसैंको समयमा यात्रुको चाप धेरै हुने भएपनि काठमाडौं जाने र पहाडी क्षेत्रबाट बाहिरीनेको संख्या न्यून हुने भएकोले सवारीसाधनको खर्च व्यवस्थापनको लागि डिजेल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। ‘विगतका वर्षमा दसैंको समयमा एकतर्फीरुपमा यात्रुको चाप देखिएकोले सवारीधनीलाई आर्थिक भार पर्ने र त्यो भार संघले पनि वहन गर्नुपर्छ भन्ने मान्यताका साथ यस्तो निर्णय गरिएको हो,’ उनले भने।
त्योसँगै संघले सवारीसाधनको ट्रिप शुल्कलाई समेत व्यवसायीलाई राहत हुने गरी व्यवस्थापन गरिएको अध्यक्ष खरेलले जानकारी दिए। संघले बुटवलबाट बाहिरीने यात्रुका लागि समेत अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको जनाएको छ। अध्यक्ष खरेलले दसैंका यात्रुको चापलाई ध्यान दिदै बिभिन्न बस टर्मिनलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको र शारिरीक रुपले अशक्त र बृद्धबृद्धाको लागि यात्रु सहायता कक्षबाटै टिकट दिने व्यवस्था मिलाईएको बताए।यात्रुको अत्यन्त चाप हुने क्षेत्रमा संख्याको आधारमा सवारीसाधन थपिने उनले दावी गरे।
देशका विभिन्न क्षेत्रमा चल्ने करिब २५ सय बस आबद्ध रहेको संघले एकैपटकमा एकलाख बढी यात्रुलाई बोक्न सक्ने क्षमता रहेको संघका महासचिव जिवन कुमार बञ्जाडेको दावी छ।
0 comments