राजधानीबासीका निम्ती दशैं–तिहारमा सरकारले ४५ वटा सरकारी बस निःशुल्क चलाउने
1:51 AM
Loading...
काठमाडौं, २० असोज । सरकारले यस वर्षको दशैंमा उपत्यकाभित्र हुन सक्ने सम्भावित सवारी साधनको कमिलाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा निशुल्क बस सञ्चालनमा ल्याउने भएको छ । यसवर्षको दशैमा तपाईले निःशुल्क सरकारी बस चढेर आफन्तकोमा टिका थाप्न जान पाउने भएको छ ।
दशैं तिहारलाई लक्षित गर्दै सरकारले ४५ वटासम्म सरकारी बस निःशुल्क संचालन गर्ने भएको छ । काठमाडौंका भित्रि सडकसहित रिङरोड परिक्रममा गर्ने गरी बिहानदेखि बेलुकासम्म निःशुल्क बस सञ्चालन गर्न लागिएको हो । सचिवस्तरीय बैठकबाट दशै तिहारमा सर्वसाधारणलाई यातायातमा सुविधा दिन निजामती कर्मचारीहरुले चढ्ने बस प्रयोग गर्न लागिएको हो । यसका लागि सिंहदरबारमा कर्मचारी ओसारपसार गर्ने अधिंकास बस प्रयोग गरिन लागेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए ।प्रवक्ता रेग्मीले भने–“अघिल्लो वर्ष भारतले गरेको अघोषित नाकाबन्दीका बेला पोहोरको दशैमा हामीले केही सरकारी बस सञ्चालन गरेका थियौं । सर्वसाधारणको प्रतिक्रिया राम्रो पाएकोले यसबर्षदेखि अलि बढी परिमाणमा सरकारी बस सञ्चालन गर्न लागेका हौं ।” दशैका बेला भाडाका सार्वजनिक सवारी साधन कम चल्ने भएका कारण सर्वसाधारणको सुविधाका लागि सरकारी बस सञ्चालनमा ल्याइएको सरकारको भनाई छ ।
सरकारले सञ्चालन गर्ने यी बर्षहरु सडकमा सर्वसाधारणको बढी चाप हुने समय दशैको विजयादशमी र एकादशीको दिन संचालन हुनेछन् । यस्तै तिहारमा भने भाईटिकाका दिन निःशुल्क सरकारी बस सञ्चालन हुनेछन् । यी दिनमा थोरै सार्वजनिक बस तथा ट्याक्सी संचालन हुने भएकोले सरकार आफैले बस संचालन गर्न लागेको हो । बस संचालनको जिम्मा भने सामान्य प्रशासन मन्त्रालयको एकीकृत परिवहन शाखाले लिएको छ । मन्त्रालयका सह–सचिव प्रदीप कोइरालाको नेतृत्वमा दशैतिहार निःशुल्क बससेवा सञ्चालन गर्न लागिएको हो ।
सहसचिव कोइरालाले भने–“२५ ओटा बस तयारी अवस्थामा रहेको छ र अन्य बसहरुको अवस्था जाँच तथा केही बसहरुको खोजी भइरहेको छ । हामी ४५ ओटासम्म निःशुल्क बस सञ्चालन गर्छौ ।”
0 comments