लोकमानको घरमा म्याद टाँस्न सर्वोच्चको टोली आज फेरि जाँदै

12:27 AM

Loading...




काठमाडौं,२० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीलाई हाजिर हुने सूचना टाँस्न सर्वोच्च अदालतका कर्मचारी बिहीबार फेरि उनको घर जाँदै छन्।
साक्षी बस्नुपर्ने वडासचिव सम्पर्कमा नआएपछि बुधबार सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो। कार्कीको घर वडा नम्बर १० बानेश्वर हाइटमा छ। त्यहाँका सचिव तालिममा भाग लिन भनी गएका थिए। सर्वोच्च टोलीलाई सूचना टाँस निम्ति उपस्थित हुने बताए पनि अन्तिम समयमा उनी आएनन्। सर्वोच्चका कर्मचारी लगभग तीन घन्टा कुरेर त्यत्तिकै फर्कियो।सर्वोच्च टोली बिहीबार फेरि जाने तयारीमा लागेको त्यहाँका एक कर्मचारीले बताए। बिहीबार पनि वडासचिव उपस्थित हुने कि नहुने यकिन भने छैन। काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारीले भने अदालतको काम–कारबाहीमा पूर्ण सहयोग रहने बताउँदै आएका छन्। सर्वोच्चले कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने आदेश गरेअनुसार उनलाई हाजिर गराउन यो सूचना टाँस्न लागिएको हो। २० दिनसम्म उक्त निर्णयको औपचारिक सूचना लोकमानले छल्न खोजेपछि सर्वोच्चले घरमै सूचना टाँस्न तामेलदार शम्भु खत्रीसहितको टिमलाई पठाएको थियो।

म्यादको पत्रमा निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ। यस्तो सूचना गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नुपर्ने नियम छ। बुधबार म्याद तामेलको पत्र लिएर जाँदा वडासचिव सरिता राई साक्षी सम्पर्कमै नआएपछि अदालतका कर्मचारी फर्किएका हुन्।
यस्तो सूचना सकेसम्म व्यक्तिलाई बुझाउनुपर्ने, व्यक्ति नभेटिए उसको घरको मानिसलाई बुझाउन मिल्ने, उनीहरु पनि नभेटिए सबैले देख्ने गरी घर या डेराको ढोकामा टाँस गर्न मिल्छ। यसरी म्याद टाँस्दा वडा कार्यालयका सचिवको रोहवरमा टाँस्नुपर्छ।

मुलुकी ऐन अदालती बन्दोबस्तको ११० नम्बरमा तामेलीसम्बन्धी व्यवस्था छ।लोकमानको नियुक्तिविरुद्ध रिट हाल्ने अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अदालतले राष्ट्रिय पत्रिकामा वा टेलिभिजनमा सूचना प्रसारण गरेर लोकमानलाई सूचना बुझाउन सक्छ। यसरी सूचना जारी भए त्यसको ४५ दिनभित्र अदालतमा लोकमान आफैं वा वारेसमार्फत उपस्थित हुनुपर्ने छ।

You Might Also Like

0 comments