रक्तदान गर्नेलाई सित्तमैमा सिमकार्ड !



रक्तदान जिवनदान भन्ने उखानै छ । रगत आवश्यक परेका विरामीहरुका लागि रगत दिनु भनेको जिवनदान गर्नु भन्दा कम होइन । रगत दान गर्नु जिवनकै सबैभन्दा ठूलो परोपकारको रुपमा रहेको भएपनि स्वेच्छाले रक्तदान गर्नेहरुको भने कमी छ ।

यहीँ मेलोमा भारतमा मानिसहरुलाई रक्तदानका लागि लोभ्याउन अनौठो उपाय निकालिएको छ । भारतको गाजियाबादमा स्थानीय रोटरी क्लबले मानिसहरुलाई रक्तदानमा प्रेरित गर्नका लागि मोबाइलको सिमकार्ड सित्तैमा दिने अफर ल्याएको हो ।

गाजियाबादको नवयुग मार्केटमा रक्दानका लागि मंगलबार शिविर संचालन भयो । उक्त रक्तदान शिविरमा एउटा घोषणा पनि गरियो । जस अनुसार जसले त्यहाँ आएर एक पिन्ट रगत दान गर्दछ उसलाई जिओ टेलिकम कम्पनीको सिमकार्ड एक्टिभेट गरेर निशुल्क दिइनेछ ।

यस्तो सुनौलो अवसर खेल फाल्न कहाँ चाहन्थे मानिसहरु । रक्तदान गरेर सित्तैमा मोबाइलको सिमकार्ड पाइने भएपनि रगत दान गर्ने मानिसहरुको लामो लाइन नै लाग्यो ।

मानिसहरु जिओ सिमकार्डमा यतिधेरै मरिहत्ते गर्नुको कारण चाहीँ यो वर्षको ३१ डिसेम्बरसम्म यसमा अनलिमिटेड फोर जी लगायतका विभिन्न सेवा निशुल्क दिइएको छ ।

रक्तदान गरेर सिमकार्ड प्राप्त गर्न चाहनेहरुलाई रक्तदान गर्न आउँदा आफ्नो आधार कार्ड, फोरजी मोबाइल फोन तथा आफ्नो फोटो समेत ल्याउन भनिएको थियो । सिमकार्ड प्रोभाइ८र कम्पनीका कर्मचारीले उक्त शिविरमै उपस्थित भई मानिसहरुलाई सिमकार्ड एक्टिेभट गर्दै वितरण गरेका थिए ।

२०७३ असोज १३ गते १०:५८ मा प्रकाशित

पहिलोपटक जन्माइयो ३ जना आमाबावुबाट एउटा बच्चा



सन्तानोत्पादन कार्यमा महिला र पुरुषको भूमिका रहन्छ । अर्थात् एक जना महिला र एकजना पुरुषबीचको समागमपछि गर्भ रहेसँगै महिलाको पाठेघरमा भ्रुणको सिर्जना हुन्छ ।

यसरप्रकार कुनैपनि बच्चा जन्मिनका लागि दुइजना मानिस, एकजना आमा र एकजना बुवाको भूमिका हुन्छ । तर वैज्ञानिकहरुले भने दुइजना मात्र होइन ३ जना आमाबुवा भएको बच्चाको जन्म गराउन सफल भएका छन् ।

अमेरिकी वैज्ञानिकहरुले विश्वमा पहिलोपटक तिन जना मानिसबाट एउटा सन्तान जन्म गराएका हुन् । यो नयाँ प्रविधि अन्तरगत तिनजना महिला पुरुषको डिएनएको प्रयोग गरी भ्रुण तयार पारिएको हो ।
अमेरिकी डाक्टरहरुको प्रयास तथा हेरचाहमा जोर्डनका एक दम्पत्तिले पाँच महिना पहिले मेक्सिकोमा ३ आमाबुवा भएको बच्चा जन्माए । बच्चा पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।

उक्त बच्चाको आमाको सरीरमा लेघ सिन्ड्रोम नामक रोगको वंशाणु थियो । यो रोगका कारण स्नायु प्रणाली रोगग्रस्त हुन्छ । ती महिलाको माध्यमबाट यो रोग उनका यसअघिका दुइ बच्चामा सरिसकेको थियो र रोगकै कारण दुबै बच्चा मरे । रोगकै कारण यी महिलाको जम्माजम्मी ४ पटक गर्भपात भैसकेको थियो ।

पटक पटक गर्भपात तथा जन्मिएको बच्चा समेत रोगका कारण मरेसँगै यो दम्पत्तिले अमेरिकाको न्यूयोर्कमा रहेको न्यू होप फर्टिलिटी सेन्टरका डाक्टर डन झेंगसँग सहयोग लिए । डाक्टरको उपचारपछि महिलाको सरीरमा भएको रोगयुक्त जिन बच्चामा नसर्ने भएको छ ।

डाक्टरले नयाँ प्रविधिको सहायताले रोगयुक्त माइटोकोन्डि्रयालाई आमाको जिनबाट हटाइदिए । त्यसपछि आमाको डिएनएको न्युक्लियसको प्रयोग गरे र त्यसलाई दाताको डिम्बसँग जोडिदिए ।

दाताको डिम्बको न्यूक्लियस हटाइएको थियो । यसलाई न्युक्लिएर ट्रान्सफर भनिन्छ । यसमा वास्तविक आमा र दाता आमा दुबैका डिम्बको प्रयोग गरिन्छ । त्यसरी तयार पारिएको डिम्बलाई लोग्नेको शुक्रकिटसँग फर्टिलाइजेसन गराइयो ।

ऋमेरिकी डाक्टर जोन झांग नेतृत्वको टोलीले ३ आमाबुवाबाट सन्तान जन्माउने कार्यमा सफलता प्राप्त गरेका भएपनि कतिपयले भने अमेरिकी डाक्टरहरुले नियमन विना तथा उपचारको विवरण सार्वजनिक नगरीकन यस्तो प्रविधि अपनाएको भन्दै आलोचना गरेका छन् ।

स्मरण रहोस् अमेरिकामा यस्तो प्रविधि प्रयोग गर्न प्रतिबन्धित छ तर मेक्सिकोमा भने यस सम्बन्धी कुनै कानून नै छैन ।

कुनै घातक वंशाणुगत रोग भएका आमाबुवाबाट सन्तानमा त्यस्तो रोग नसरोस् भन्नका लागि यो प्रविधि निकै लाभदायी हुने देखिएको छ ।

२०७३ असोज १३ गते १०:५४ मा प्रकाशित

हिन्दीलाई राष्ट्रिय भाषा बनाउन सकिँदैनः वर्षमान पुन





१२ असोज, तुलसीपुर । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको हल्ला अनावश्यक भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता पुनले कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने बताए ।

उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षड्यन्त्र मात्रै भएको बताए । त्यस्तै उनले अंगीकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउनका खोजिएको आरोप लगाए ।

यसबारेमा संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाइदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए । नेता पुनले भने ‘अब भारतवाट मात्रै बुहारी भित्र्याइन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’

पत्रकार सम्मेलनमा नेता पुनलेसंघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुई देशबीच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी समेत गरे ।

पूर्व मन्त्री पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिकाबीचमा भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा साइडलाइन भेट्ने र सम्वाद गर्ने निश्चित भएको बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘नेपाल हल्लै हल्लाको देश हो । आफै भ्रमण मिति ‘फिक्स’ गर्ने र आफै ‘क्यान्सिल’ गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’

नेता पुनले मधेस र संविधानप्रति विमत्ति राख्नेहरु समेत संवादमा आएको दाबी गरे । यो सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गराउने उनको दावी छ । सीमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा आजका यो जिल्ला थप्ने वा यो जिल्ला हटाउने भन्ने सवालमा कुनै पनि सहमति भइनसकेको पुनले प्रष्ट पारे ।

त्यस्तै उनले स्थानीय निकाय पुनर्संरचनाको सवालमा दलहरुबीच सहमति भइसकेको बताए । तर सहमति भएपनि मधेसी दलहरुले सार्वजनिक रुपमा केही रिजर्वेशन राखिएको बताए । उनले उपेन्द्र यादवले भनेका मात्रै सवै कुरा नलाग्ने र मान्ने नहुने बताए ।

२०७३ असोज १२ गते १२:३३ मा प्रकाशित

चीनसँग सम्झौता गर्न अर्को देशलाई सोध्नु पर्दैनः प्रस्तावित राजदूत पौडेल





१२ असोज, काठमाडौं । चीनसँग भएको सहमति कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको प्रस्तावित राजदूत लीलामणि पौडेलले बताएका छन् । यो सम्झौताले नेपाल र चीन सम्वन्धलाई नयाँ उचाइमा पुर्‍याउन ढोका खोल्ने बताए ।

संसदीय सुनुवाई विशेष समितिको बैठकमा सुनुवाईका लागि बुधबार उपस्थित प्रस्तावित राजदूत पौडेलले भने, ‘प्रधानमन्त्रीले राजदूत प्रस्ताव गर्दा मैले सहज स्वीकार गर्नुको मुख्य कारण (प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको) सम्झौताको महत्व हो ।’

उनले अघि भने, ‘दुई देशको सम्वन्धलाई नयाँ उचाईमा लिएर जाने सम्भावना छ । सम्झौताले यो ढोका खोलेको छ । हाम्रो पनि चेत खुलेको छ ।’

नेपालले चीनसँग सम्वन्ध सुधार गर्दा वा कुनै सम्झौता गर्दा अमुक देशविरोधी भयो भन्ने मानसिकता भएको उनले बताए । दुई स्वतन्त्र नेपाल र चीनले द्विपक्षीय हितका विषयमा सम्झौताहरु गर्नसक्ने भन्दै उनले भारतको नाम नलिई भने, ‘हामीले अर्को मुलुकलाई सोध्नु पर्दैन ।’

यद्यपि यस्ता सम्झौताहरु अर्को मुलुकलाई च्यालेन्ज गर्ने भने हुन नहुने चीनका लागि प्रस्तावित राजदूत पौडेलले बताए ।

नेपालले पर्यटनको क्षेत्रमा चीनबाट धेरै लाभ लिन सक्ने सम्भावना भएपनि लिन नसकिरहेको उनले बताए । यसका लागि सहज आवागमन, बजार प्रवर्द्धन र नयाँ गन्तव्यहरुको पहिचानमा समस्या रहेको भन्दै उनले सुधारमा जोड दिए ।

२०७३ असोज १२ गते १२:४७ मा प्रकाशित

काठमाडौंमा डेंगु सार्ने लामखुट्टे भेटिए, डेंगु लागेको कसरी थाहा पाउने ?





१२ असोज, काठमाडौ । चितवनका २१ जनामा डेंगुको संक्रमण देखिएपछि काठमाडौंबासीलाई पनि सतर्क रहन स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी शाखाले अनुरोध गरेको छ ।

इपिडिमियोलोजी शाखाले डेंगु सार्ने ‘एडीज’ नामक लामखुट्टे काठमाडौंमा पनि देखिएको भन्दै सतर्क रहन अनुरोध गरेको हो ।

शाखाका अनुसार करिब एक महिनाको अवधिमा चितवनमामात्र झण्डै २१ जनामा डेंगुको संक्रमण देखिएको छ र डेंगु सार्ने लामखुट्टे काठमाडौंमा पनि भेटिएको शाखाका अधिकारीहरु बताउँछन् ।

चितवनमा देखिएको डेंगु काठमाडौंको लामखुट्टेले सारेको हो वा त्यहीँबाट फैलिएको हो भन्नेबारे अहिलेसम्म यकीन जानकारी भने नआएको इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले बताए ।

डा. शर्माले भने, ‘अहिलेसम्म काठमाडौंमा डेंगुका विरामी नदेखिए पनि डेंगु सार्ने लामखुट्टे भने प्रशस्त मात्रामा भेटिएका छन् । तर, चितवनमा देखियो त्यो रोग काठमाडौकै लामखुट्टेले सारेको हो वा उतैबाट सरेको हो भन्ने अझै पुष्टि भएको छैन ।’

यद्यपी, डेंगु सार्ने लामुखट्टेले संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग सजिलै सर्ने हुँदा सजग रहन उनको अनुरोध छ ।

नेपालमा हरेक वर्ष डेंगुको संक्रमण हुने गरेको छ । यस वर्ष नेपालमा डेंगुबाट कसैले ज्यान गुमाउनु परेको छैन । तर, सन् २०१० मा नेपालमा डेंगुबाट मर्नेको संख्या १० पुगेको थियो । त्यस्तै, गत वर्ष दुईजनाले डंगुबाट ज्यान गुमाएका थिए ।

डेंगु लागेको कसरी थाहा पाउने ?

खासगरी नेपालका तराईका जिल्लाहरु डेंगुबाट बढी प्रभावित छन् । यदि तपाई डेंगु प्रभावित क्षेत्रमा हुनुहुन्छ र ज्वरो आएको छ भने तपाईंलाई डेंगु भएको हुनसक्छ । त्यसैले निरन्तर उच्च ज्वरो आइरहेको छ । तर त्यसमा भाइरल इन्फ्लुयन्जा अथवा रुघाखोकीको कुनै लक्षण देखा परेको छैन भने एकपटक डेंगुको जाँच गर्नु उपर्युक्त हुन्छ ।

उच्च ज्वरो आउने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने, शरीरका विभिन्न भागबाट रगत बग्ने डेंगु रोगको लक्षण हुन् ।

कसरी बच्ने ?

डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा बढी टोक्ने हुँदा शरीर ढाक्ने पुरा बाहुला भएको लुगा लगाउनुपर्दछ ।

घरमा सुत्दा झुलको प्रयोग गर्ने र शरीरमा ओडोमस लगायतका क्रिम शरीरमा लगाउँदा पनि लामखुट्टेले टोक्दैन ।

यसका साथै घर वरपर पानी जम्ने खाल्डा खुल्डी छन् भने पुर्ने, घर वरिपरि पानी जम्न नदिने र सरसफाइ गर्ने, सकेसम्म प्लाष्टिकका भाँडाहरुको प्रयोग गर्नु हुँदैन । प्लास्टिकका भाँडामा लामखुट्टे वृद्धि हुन सम्भावना बढी रहन्छ ।

डेंगु लाग्दा ध्यान दिनुपर्ने कुरा

डेंगु रोग लाग्यो र समयमै उपचार भएन भने मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले ज्वरो आउनासाथ वा डेंगु लागेको शंका लागेमा स्वास्थ्य जाँच गराइहाल्नुपर्छ ।

डेंगु लागेको मानिसलाई ज्वरो कम भएपनि अस्पतालबाट घर फर्काउनु हुँदैन । किनकी ज्वरो घटेको ४८ घण्टासम्म पनि अवस्था जोखिमपूर्ण नै हुने भएकाले विरामीलाई चिकित्सकको निगरानीमा राख्नु नै उचित हुन्छ ।

डेंगु लागेको व्यक्तिलाई धेरै ज्वरो आएमा बु्रफिन खानु घातक हुन्छ । यसले शरीरबाट थप रगत बग्ने जोखिम हुन्छ ।

२०७३ असोज १२ गते १२:४८ मा प्रकाशित

भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि






काठमाडौँ, १२ असोज । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग-यो ।समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा शुभकामना दिँदै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थिरता कायम हुन नसकेकाले नै देशमा विकास हुन नसकेको र उत्कृष्टमध्ये एक संविधान जारी गरे पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल मिलेर सुल्झाउनुपर्ने बताए ।

उनले भोजपुर चेतनाको दृष्टिले अगाडि भएपनि पूर्वाधारमा पछाडि हुनुका साथै भोजपुरको विकास अल्मलिएकाले किन विकास हुन सकेन भनेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले चाडपर्वको अवसरमा समाजले एकै ठाउँ ल्याएकोमा धन्यवाद दिँदै भोजपुर विकासमा किन कमजोर भयो भन्ने सोच्नुपर्ने बताए ।

पूर्वसांसद शान्ति अधिकारीले भोजपुरको गौरव सबैतिर फैलिए पनि विकासको फल प्राप्त गर्न नसकेको बताइन।युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शुभकामना दिदैभोजपुरको विकासबारे चिन्तन गर्नुपर्ने बताए ।पूर्वसांसद तथा राष्ट्रपतिका अर्थविज्ञ धनहर्क राईले धेरै बर्ष अगाडि भोजपुरमा बाढीपहिरोको समस्या पर्दा समाजका पूर्वअध्यक्ष गजेन्द्रमणि प्रधानले समाजका तर्फबाट सहयोग उपलब्ध गराएको सम्झना गर्दै शुभकामना दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विश्वको जुन भागमा रहे पनि भोजपुरमा बाल्यकाल बिताएको सम्झना आइरहन्छ भन्दै भोजपुरको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले भोजपुरे जहाँ रहे पनि भोजपुरको विकासका लागि एक हुनुपर्छ भन्दै विदेशमा अवसर पाए पनि यहीँ केही गर्न सकिन्छ कि भनी समाजमार्फत सक्रिय रहेको बताउँदै भोजपुर अन्य सबै क्षेत्रमा अगाडि भए पनि पूर्वाधारमा पछि परेको बताए ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य तारानाथ लुइँटेल, समाजका परिषद् अध्यक्ष दयाकृष्ण न्यौपाने, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली, डा गोविन्दमान सिंह कार्की, राजन श्रेष्ठ, रोशन श्रेष्ठ, दक्ष पौडेल, देवी घिमिरे आदिले भोजपुरले राष्ट्रपतिजस्तो सम्मानित पद र पटकपटक मन्त्री पद पाएपनि आवश्यक पूर्वाधार विकास हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ, विप्लव ढकाल, पवन आलोक, पशुपति पराजुली आदिले कवितावाचन गरेकाथिए भने गायक मनोज सामसोङले गीत प्रस्तुत गरेकाथिए । कार्यक्रममा समाजलाई सहयोग गरेबापत युनाइटेड स्कुल, कुमारीपाटी, ललितपुरलाई प्रमुख अतिथि कार्कीले समाजका तर्फबाट प्रशंसापत्र प्रदान गरेकाथिए ।

युवती जिस्काउँदा चालक र सहचालक परे फन्दामा,युवतीका आफन्तले कुटपिट सहित ३० हजार जरिवाना तिराए



रुपन्देही, ११ असोज । रुपन्देहीमा युबती जिस्काएको आरोपमा चालक र सहचालकले जरिवाना तिरेका छन् । लु १ ख ६१८३ नम्वरको बसका चालक संजय कुर्मी र सहचालक मंगरु कुर्मीलाई बिष्णुपुरा गाबिसको लोण्डिहवामा स्थानीय र युवतीका आफन्तले कुटपिट गर्दै जरिवाना तिराएका छन् भैरहवाबाट झारबैरा जान बसमा चढेकी एक युवतीलाई बस चालक र सहचालकले अभद्र व्यवहार गरेको स्विकारदै चालकले २० हजार रुपेयाँ र सहचालकले १० हजार रुपैयाँ जरिवाना तिरेको बिष्णुपुरा गाविसका पूर्वउपाध्यक्ष कपिलदेव पाण्डेले जानकारी दिए । भैरहवाबाट झारबैरा जान बसमा चढेकी एक युवतीलाई बस चालक र सहचालकले अभद्र व्यवहार गरेको स्विकारदै चालकले २० हजार रुपेयाँ र सहचालकले १० हजार रुपैयाँ जरिवाना तिरेको बिष्णुपुरा गाविसका पूर्वउपाध्यक्ष कपिलदेव पाण्डेले जानकारी दिए ।